नेपाली / English
फिचर

दुई वर्ष प्रयासको परिणाम : फोरम र नयाँ शक्ति एकिकरण

काठमाडौँ ।  वर्गाीय मुक्ति र उत्पीडनको अन्त्य गर्ने भन्दै कुनैबेला एउटै पार्टीमा संलग्न रहेका डा बाबुराम भट्टराई र उपेन्द्र यादव पुनः एकै ठाउँमा आइपुग्नुभएको छ । समयक्रमसँगै विभिन्न मोड पार गर्दै विपरीत विचारको शक्तिलाई केन्द्रीकृत गरी मोर्चाबन्दी गरेका दुई पार्टी एकीकरण भई समाजवादी पार्टी घोषणा गर्नुभएको छ । नयाँ वैचारिक शक्ति निर्माण गरी आर्थिक समृद्धिमा जुट्ने लक्ष्यका साथ स्थापना भएको नयाँ शक्ति पार्टी स्थापना भएको चार वर्ष नपुग्दै तराई–मधेशको आन्दोलनबाट उदाएको सङ्घीय समाजवादी फोरमसँग एकता हुने अवस्थामा आइपुगेको हो ।
संविधान जारी भएसँगै तत्कालीन एकीकृत नेकपा (माओवादी) लाई टेको लगाएको घर भन्दै नयाँ शक्ति निर्माणमा जुट्नुभएका डा भट्टराईलाई नै साथ दिने नेताहरुले समेत छाडेपछि राजनीतिकरुपमा कमजोर बन्नुभएको थियो । प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काङ्ग्रेसको सहयोगमा गोरखा क्षेत्र नं २ बाट डा भट्टराई निर्वाचित भए पनि अन्य स्थानमा पार्टी पराजित हुनपुग्यो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबीचको एकता प्रक्रियाको शुरुआती चरणमा सहभागी भए पनि केही विषयमा असहमति राख्दै भट्टराई बाहिरिनुभयो । तराई–मधेशको आन्दोलनबाट उदाएको सङ्घीय समाजवादी फोरम भने निरन्तर पूर्ववत् शक्तिमै रह्यो । प्रतिनिधिसभाको निर्वाचनका क्रममा समेत फोरम र नयाँ शक्तिबीच एकताका विषयमा छलफल नभएको होइन तर त्यसले कुनै निष्कर्ष निकाल्न सकेन । पछिल्लोपटक समाजवादी फोरम नेकपा नेतृत्वको सरकारमा सहभागी छ । यसै सन्दर्भमा दुई पार्टीबीच एकता भएको हो ।
परम्परागत राजनीतिक शक्तिभन्दा भिन्न किसिमको वैकल्पिक धारको शक्ति निर्माण गर्ने भन्दै नयाँ पार्टी घोषणा गरिएको हो । पार्टी एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ । अध्यक्षमण्डल दुई जना रहने पार्टीको संरचनाबमोजिम समाजवादी पार्टीको अध्यक्षसहित २६ जनाको पदाधिकारी रहने जनाइएको छ । पार्टीको केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव र सङ्घीय परिषद्को अध्यक्ष डा बाबुराम भट्टराई रहनुभएको छ । अध्यक्ष यादवले मधेश, आदिवासी, जनजाति, लैङ्गिक विभेद र अल्पसङ्ख्यक तथा सिमान्तकृत समुदायको मुद्दामा अड्ने अझ शक्तिशाली पार्टीको निर्माण भएको उल्लेख गर्नुभयो । “सामाजिक न्याय, समानता, पहिचान, विभेदको अन्त्य गर्दै समाजवादी व्यवस्थासम्म पुग्नका लागि एउटै शक्तिका रुपमा एकताबद्ध भएर लड्ने अवस्थामा आइपुगेका छाँै, अब, ‘तराईमा आन्दोलित भए गोर्खा चुप लाग्दैन, धनकुटा वा सोलुखुम्बुमा भयो भने वीरगञ्ज सुतेर बस्दैन, काठमाडौँमा आन्दोलन भयो भने पूरै मुलुक एकजुट भएर उठ्नेछ आन्दोलनले अब व्यापकता लिइसकेको छ”, पार्टी एकता घोषणा कार्यक्रममा अध्यक्ष यादवले भन्नुभयो ।
उहाँले आफ्नो पार्टी आर्थिक समृद्धि, विकास र सङ्घीय गणतन्त्रको संस्थागत तथा समावेशी लोकतन्त्रलगायत जातीय, वर्गीय र वर्णको व्यवस्थाद्वारा उत्पन्न भएका अन्तर विभेदलाई समाप्त पारी समाजवादी गणतन्त्र स्थापनार्थ पार्टी निर्माणको अभियानमा जुटेको उल्लेख गर्नुभयो ।
अध्यक्ष यादवले विचार मिल्ने अन्य शक्तिसँग पनि पार्टी एकीकरणको छलफल चलिरहेको जानकारी दिँदै राष्ट्रिय जनता पार्टी, जनमुक्ति पार्टीलगायत दललाई एकताको प्रक्रियामा आउन आह्वान गर्नुभयो । पार्टीको सङ्घीय परिषद्का अध्यक्ष डा भट्टराईले पार्टीको एकीकरण मात्र नभई नयाँ प्रकारको राष्ट्रिय एकीकरण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आजभन्दा करीब अढाइ सय वर्ष पहिले पृथ्वीनारायण शाहको नेतृत्वमा भौगोलिकरुपमा हिमाल, पहाड र तराईको भू–भागलाई बलपूर्वक भौगोलिक एकीकरण गर्नुभएको थियो तर आज हामीले भौगोलिक एकीकरणमा मात्र हैन स्वेच्छाले विभिन्न जाति र समुदायका जनतालाई भावनात्मक वैचारिक ढङ्गले उनीहरुको पूर्ण स्वतन्त्रता र स्वायत्तताको सम्मानको कदर गर्दै राष्ट्रिय एकता गर्दैछौँ । यही नै पार्टीको मुख्य मिसन हो ।”
अध्यक्ष भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरी मुलुकलाई आर्थिक समृद्धिमा लैजान पार्टीले नेतृत्वदायी भूमिका खेल्ने उल्लेख गर्नुभयो । “सङ्घीयताको प्रभावकारी कार्यान्वयन भएको छैन, प्रदेशलाई पर्याप्त अधिकार दिइएको छैन, वित्तीय साधन स्रोतको उचित प्रयोग भएको देखिँदैन, त्यसैले सङ्घीयताको वैज्ञानिक ढङ्गले कार्यान्वयन गरी राज्य पुनःसंरचना आयोगको प्रतिवेदनका आधारमा सङ्घीयतको ढाँचा कार्यान्वयन गराउन प्रतिबद्धताका साथ लाग्नेछ”, उहाँले भन्नुभयो । अध्यक्ष भट्टराईले पार्टी एकताबद्ध भएपछि सरकारमा रहने कि नरहने भन्नेमा कुनै दुविधा नरहेको भन्दै सङ्घर्ष नै पहिलो मोर्चा भएको र आवश्यक परेमा सरकारमा सहभागी रहेर मुद्दा अघि बढाइने उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधन गरेर जनताको अधिकार स्थापित गर्न आफूहरुले सम्झौता गरिसकेकाले आवश्यकताका आधारमा उपयुक्त निर्णय लिने पनि उल्लेख गर्नुभयो । पार्टीका वरिष्ठ नेता अशोक राईले सङ्घीयता, सुशासन र समृद्धिका लागि नयाँ पार्टी निर्माण गरिएको उल्लेख गर्नुभयो । सो अवसरमा उपाध्यक्षहरु नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउतले आवश्यकताका आधारमा पार्टी एकीकरण भएको र मुद्दालाई निष्कर्षमा पु¥याउन प्रतिबद्धताका साथ लाग्ने बताउनुभयो । पार्टीका सहअध्यक्ष राजेन्दप्रसाद्र श्रेष्ठले पार्टी एकीकरणको आधारपत्र प्रस्तुत गर्दै अलग धारबाट वैकल्पिक शक्ति निर्माण गर्ने प्रयास दुई वर्षको मेहनतपछि सार्थकता पाएको उल्लेख गर्नुभयो ।
पच्चीस सदस्यीय पदाधिकारी ः समाजवादी पार्टीको एकीकरणपछि अध्यक्षयद्वयसहित २५ सदस्यीय पदाधिकारी घोषणा गरिएको छ । पार्टीको वरिष्ठ नेतामा अशोक राई, सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ हुनुहुन्छ । त्यस्तै उपाध्यक्षमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई रहनुभएको छ । महासचिवमा गङ्गानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव तथा उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवमा मोहम्मद इस्तियाक राई, दुर्गा सोब, पर्शुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवलाई दिइएको छ ।
समाजवादी पार्टी घोषणाका नौ आधार ः समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरण भई बनेको समाजवादी पार्टीका नौ आधारपत्र छन् । पार्टी एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिकोतर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमकोतर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ । समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरण भई बनेको समाजवादी पार्टीका नौ आधारपत्र छन् । पार्टी एकताका नौ आधारमध्ये पहिलो नम्बरमा सङ्घीयता र समाजवादको सिद्धान्तमा स्थापित फोरम र प्रगतिशील लोकतान्त्रिक शक्तिका रुपमा स्थापित नयाँ शक्तिबीच पार्टी एकीकरण गरेर समाजवादी पार्टी नेपाल स्थापना गरिएको उल्लेख छ ।
एकताको आधारपत्रमा नेपालको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक न्यायका लागि भएका सबै जनआन्दोलन, जनयुद्ध, मधेश जनविद्रोह तथा पहिचान र अधिकारका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बेपत्ता, घाइते र शहीद परिवारलगायत सबैप्रति उच्च सम्मान प्रकट गरिएको छ । समाजवादी पार्टीको राजनीतिक कार्यदिशा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिलाई रक्षा र विकास गर्नु रहने समझदारीपत्रमा उल्लेख गरिएको छ । यस्तै एकीकृत पार्टीले फोरमले अवलम्बन गर्दै आएको सङ्घीय समाजवाद र नयाँ शक्तिले अवलम्बन गर्दै आएको समुन्नत समाजवादका आधारमा समुन्नत सङ्घीय समाजवादको सिद्धान्त अघि सारिएको छ ।
एकीकृत पार्टीले सैद्धान्तिक वैचारिक मान्यताका आधारमा राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुला समाज, बालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थालगायतका मूल्य र मान्यता आत्मसात् गर्ने भएको छ । यस्तै दुई पार्टी सङ्घीय राज्य बनाउन प्रतिबद्ध रहेको र त्यसका लागि संविधानसभाद्वारा गठीत उच्चस्तरीय राज्य पुनसंरचना सुझाव आयोगको प्रतिवेदनका आधारमा संविधान संशोधन गरी ११ प्रदेशको रचना गर्नुपर्नेमा जोड दिइएको छ । एकीकरणको घोषणासँगै फोरम र नयाँ शक्ति दुवै विधिवत्रुपमा विघटन भएको छ । नयाँ पार्टी समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गरिनेछ । यो एकीकरणसँगै नेपालमा नयाँ वैकल्पिक शक्तिको उदय भएको सहमतिपत्रमा उल्लेख गरिएको छ ।–रासस

विश्वबाट समाचार

Live updates: Minneapolis prepares...

Most protests were peaceful Wednesday, but tense confrontations played out between police and the public in cities from...

Live updates: Senate Democrats...

Most protests were peaceful Wednesday, but tense confrontations played out between police and the public in cities from...

Live updates: Senate Democrats...

Most protests were peaceful Wednesday, but tense confrontations played out between police and the public in cities from...

Live updates: Minneapolis prepares...

Most protests were peaceful Wednesday, but tense confrontations played out between police and the public in cities from...

Live updates: Minneapolis prepares...

Most protests were peaceful Wednesday, but tense confrontations played out between police and the public in cities from...

Live updates: Minneapolis prepares...

Most protests were peaceful Wednesday, but tense confrontations played out between police and the public in cities from...

Live updates: Civil unrest...

Testing centers have been forced to close around the country, making new clusters of coronavirus cases harder to...

Live updates: Fauci says...

More than 1.8 million coronavirus cases have been reported in the United States, including at least 106,000 fatalities.

Live updates: Fauci says...

More than 1.8 million coronavirus cases have been reported in the United States, including at least 106,000 fatalities.

Live updates: Fauci says...

More than 1.8 million coronavirus cases have been reported in the United States, including at least 106,000 fatalities.

Powered by NewsAPI.org