नेपाली / English

निरन्तर वर्षाका कारण सैकडो ठाउँमा पहिरो जादाँ पृथ्वी राजमार्गमा आवागमन ठप्प

काठमाडौ । निरन्तर वर्षाका कारण ठाउँ  ठाउँमा पहिरो जादाँ पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा रहेको मौवाखोलाको पुल बगाउदाँ आवागमन पूर्ण रुपमा ठप्प भएको छ । धादिङतर्फ पुलको ढलानसँग जोडिएको सडक समेत बगाएपछि  राजमार्गमा आवागमन प्रभावित भएको छ भने काठमाडौंतर्फ जाने सयौं सवारी साधन मौवाखोलाबाट नै फर्किएका छन् । बाढीले भत्काएको भागमा नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरेर सडक सञ्चालन गरिने डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।

राजधानी काठमाडौं जोड्ने मुख्य सडकको पुल भत्किदा सवारी साधानहरुको आवागमन ठप्प भएको छ । लकडाउनका कारणले यात्रुबहाक सवारी भने चलेका छैनन् । तर   ठूलामालबाहक र नीजि सवारीसाधनहरु बीचबाटो मै अलपत्र परेका छन् । मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला गरेर सैकडो पहिरो खसेका छन् । निरन्तर पानी परिरहेका कारण पहिरो पन्छाउन समेत समस्या भएको छ ।  ‘पानी पर्न कम भएपछि पुलको डाइभर्सन र ठाउँठाउँमा गएको पहिरो पन्छाउने काम गछौँ,’  प्रमुख जिल्ला अधिकारी बताउनु भएको छ ।

पृथ्वीराजमार्गको हुग्दीखोला, मौवाखोला, जवाङखोला आसपास क्षेत्र, बादरेखोला, बैरेनी, चालिसे, फूर्केखोला, छहरे लगायतको क्षेत्रमा पहिरोका कारण राजमार्ग पुरै अवरुद्ध भएको छ । पहिरो पन््याउन र जतिसक्दो चाँडो सवारी आवागमन सूचारु गर्न डिभिजन सडक कार्यालय र नेपाली सेना  मिलेर डाईभर्सन गरेर भएपनि सवारी आवागमन सूचारु गर्ने प्रयासमा लागेका छन् ।