नेपाली / English / हिन्दी

परिवर्तनका पक्षधर, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रका पक्षधरहरु एकजुट हुन जरुरी छ : बस्नेत

पुर्णबहादु बस्नेत जसपाका युवा नेता हुनु हुन्छ । पार्टी भित्र सांगठानिक र वैचारीक रुपले सक्षम युवा नेताको रुपमा परिचित बस्नेत तत्कालिन समाजवादी पार्टी  निकट वौद्धिक पेशाकर्मी महासंघको सह-इन्चार्ज हुनु हुन्थ्यो ।

० राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी बीच पार्टी एकता भएर जनता समाजवादी पार्टी बनेको छ, दुई पार्टी बिचको पार्टी एकता प्रकृया कहाँ पुग्यो ?
पार्टी एकिकरण प्रकृया आफैमा जटिल प्रकृया हो । त्यसमा पनि राष्टिय जनता पार्टी र समाजवादी पार्टीबीच एकताका लागि लामो समय देखि छलफल हुदै गरेको भएतापनि जुन दिन एकताको सहमति गर्नुपर्यो त्यसदिन सम्म पनि खासगरि सांगठनिक र कतिपय बैचारिक सवालहरु टुंगीसकेका थिएनन । त्यसमा पनि कोभिड १९ को महामारीका बीच पार्टी एकिकरण प्रकृयालाई टुंग्याउन नेताहरु लागि पर्नुभएको छ । छोटोमा भन्नुपर्दा विधानले व्यवस्था गरे बमोजिमको केन्द्रीय समितिको सदस्य संख्या ७०१ मध्ये ३५० समाजवादीबाट र ३५० राजपाबाट चयन गर्नको लागि आवश्यक मापदण्ड बनाई कार्य थालिएको छ । र सो लगत्तै पार्टीका अन्य समितिगत संगठनहरुको समायोजन कार्य अगाडि बढ्छ ।

० पदाधिकारी चयन संघिय परीषद अध्यक्ष चयन किन हुन सकि रहेको छैन ?
पदाधिकारी चयन, केन्द्रीय समिति निर्माणको कार्यविधी निर्माणका लागि २०७७ साउन २१ देखि २४ सम्म बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शिर्षस्थ ५ जना नेताहरुलाई जिम्मेवारी सुम्पेको छ । उहाँहरुले त्यसमा वर्कआउट गर्दै हुनु हुन्छ । जहाँसम्म संघीय परिषदको अध्यक्ष चयन किन हुन सकिरहेको छैैन भन्ने यहाँको प्रश्न छ । त्यसमा मेरो पनि यसलाई चाँडै टुंगो लगाउनु पर्छ भन्न धारण हो । यो विषय पार्टीभित्र पनि निकै उठ्ने गरेको छ । यसलाई पार्टीले चाँडै सम्बोधन गर्ने छ भन्ने मलाई लाग्दछ ।

० सुरुमा दल दर्ता प्रकृया अगाडी सार्दा नेताहरु अनिल झा,राजकिशोर यादव लगायतका केही नेताहरु असन्तुष्ट हुनुहुन्छ । भन्ने समाचार थियो, ढिलो हुनुमा त्यसकै अशर हो कि ?
मैले अघि पनि भने पार्टी एकता प्रकृया निकै जटिल प्रकृया हो । त्यसमा राजपामा ६ वटा दल मिलेर बनेको हुदा यसभित्र सांगठनिक समस्याहरु देखिनु स्वभाविक हो । व्यक्ति विशेषको असंन्तुष्टिका बारेमा त म जानकार छैन , तर जुन समयमा पार्टी एकिकरण भयो त्यसबेला कोरोना महामारीका कारण पर्याप्त छलफल गर्ने बातावरण थिएन । जस्ले गर्दा बहस र छलफल विस्तृत रुपमा नभइ निर्णय प्रकृयामा जानुपर्दा कहि कतै त्रुटि भए होलान् यद्यपी एकिकरण प्रकृयामा यो विषयले समस्या पार्यो भन्ने मलाई लाग्दैन ।

० बिचमा यहाँले ५१ जनाले सबै कमिटीलाई कोमामा पठाएको आशय पनि ब्यक्त गर्नु भएको थियो नि ?
पार्टी एकिकरण प्रकृयामा पार्टीको केन्द्रीय समितिले अपनत्व महसुस गर्न पाएन । निर्णय प्रकृयामा यो समितिको भूमिका रहेन । नीति प्रधान पार्टी हो भनि नेताहरुले पटक पटक भाषण गरिरहदा पार्टीमा नेता नै प्रधान भए नीति प्रधान भएन भन्ने तल्लो समितिका जिम्मेवार कार्यकर्ताहरुको गुनासोलाई मैले जस्ताको तस्तै राखेको हुँ । पार्टी एकिकरणको बाध्यात्मक परिस्थिति र कोरोनाको कहरकाबीचको त्यो एकिकरणको सफल प्रयासप्रति हामीले खुसी व्यक्त गर्नुपर्छ र नेताहरुलाई धन्यवाद व्यक्त गर्नुपर्छ ।

० प्रदेश कमिटीहरुको एकता जनवर्गीय संगठन र विभागहरुको गठन के हुँदै छ ?
मैले अघि पनि भने समाजवादी पार्टीको ४३१ सदस्यीय केन्द्रीय समिति र राजपामा रहेको ८०० हाराहारीको केन्द्रीय समितिलाई मिलाएर ७०१ सदस्यीय समिति बनाउने काम हुदैछ । केन्द्रीय समितिले पूर्णता पाएसंगै मातहतका कमिटीहरु समायोजनको प्रकृया अगाडि बढ्छ । यद्यपी पार्टीले यदि सहमति जुट्छ भने कुनै पनि मातहत समिति वा जनसंगठनलाई समायोजनको लागि ढोका खोलेको छ । यसमा तलबाट वा माथिबाट जहाँबाट सम्भव छ त्यहाँबाट समायोजनको प्रकृया अगाडि बढाउन सकिन्छ । विभागको सन्दर्भ पनि त्यही हो जव केन्द्रीय समितिको टुंगो लाग्छ तत् पश्चात विभागको काम पनि अगाडि बढ्छ ।

० राजपा र समाजवादी बिच पार्टी एकता भएपछि अरु दलसँग पनि पार्टी एकता गर्दै जाने बताउनु भएको थियो के हुँदै छ ?
राजपा र समाजवादी पार्टी एकिकरण भई बनेको जनता समाजवादी पार्टी बास्तविक रुपमा बैकल्पिक शक्ति बन्नुपर्छ भन्ने आम जनता माग रहेको छ । खासगरि नेपाली काङ्ग्रेस र नेकपा जस्ता पार्टीले देश र जनतालाई निरासा बाहेक केही दिएनन् । तसर्थ जनता र देशले आजको दिनमा साँच्चिकै नयाँ बैकल्पिक शक्तिको माग गरेका छन् र त्यसको लागि परिवर्तनका पक्षधर, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रका पक्षधरहरु एकजुट हुन जरुरी छ । जसका लागि पार्टीले त्यस्ता पार्टी, समुहसंग एकता, सहकार्य र गठबन्धन गर्ने नीति बनाएको छ ।

० तपाईहरुको पार्टी एकता भएर ठुलो बने पनि बिचार ब्यबहार र संस्कारमा नेकपा र काग्रेस भन्दा फरक नभएकोले यो पनि तपाईहरुले दाबी गरे जस्तो बैकल्पीक पार्टी मान्न जनता तयार छैनन नि ?
जहाँसम्म विचारको कुरा गर्नुभो त्यो नेकपा र कांग्रेस भन्दा फरक नभएको भन्ने कुरा विल्कुल गलत हो । वैचारिक, शैद्धान्तिक र सांगठनिक संरचनाका हिसावले जसपा, नेपाल नेपाली कांग्रेस र नेकपा भन्दा बिल्कुल भिन्न छ । र कुरा रह्यो व्यवहार र संस्कारको कुरा । त्यसमा मलाई के लाग्छ भने नेताहरुले बैकल्पिक शक्तिको कुरा गर्दा बैकल्पिक व्यवहार र संस्कारको जरुरत पर्छ भन्ने कुरा महसुस गरेका छन् । जनताले बैकल्पिक पार्टी मान्ने नमान्ने भन्ने कु्रा व्यवहारले र परिणामले पुष्टि गर्ने कुरा हो । त्यसको लागि समय लाग्छ ।

० यहाले बैकल्पीक पार्टी भने पनि तपाईहरुको पार्टीले त सिड्गोको देशको कुरा नगरी मधेश केन्द्रीत दलले जस्तै मधेश र जनजाती महासंघले जस्तै जनजातीको कुरा बढी उठाउने गरेको आरोप छ नि ?
मधेश र आदिवासी जनजाति मात्र हैन शिल्पी, मुस्लिम, महिला, खस, आर्य, अल्पसंख्यक सबैको कुरा उठ्छ । पार्टी समानुपातिक समावेशीताका शिद्दान्तमा प्रतिवद्ध छ । श्रमजीवि वर्ग र उत्पीडित राष्ट्रियताका सवालहरुलाई केन्द्रमा राखेर पार्टी निर्माण भएको छ । यो राष्ट्रिय र बैकल्पिक पार्टी हो ।

० यहाँहरुले त नागरिकता विधेयकमा बैवाहिक अंगीकृत नागरिकताको प्रावधानमा राखिएका व्यवस्थाहरु ठिक भएनन भनेर सडक आन्दोलन पनि गर्नु भएको थियो, अहिले त आन्दोलन यसै सिथिल भए जस्तो छ नि ?
अहिलेको समयमा पनि लिङ्गका आधारमा हुने कुनै पनि किसिमको विभेदलाई पार्टीले स्वीकार गर्न सक्दैन । सबैखाले उत्पीडन र विभेदका विरुद्ध पार्टीले सडक र सदन सबैतिर बाट आन्दोलन गर्छ । आन्दोलनको स्वरुप परिवर्तन हुन सक्छ । आन्दोलन अहिले सिथिल भएको हैन आन्दोलनले स्वरुप परिवर्तन गरेको हो ।

० तपाईहरुको पार्टीले त नक्सा प्रकरणमा केन्द्रीय सदस्य एवं सांसद सरिता गिरीलाई कारवाही ग¥यो,तर पार्टी फुटाउन खोज्नेलाई बढुवा गर्यो भनि त्यसले पार्टीमा तरंग आएको छ भन्छन् नि ?
सांसद गिरीलाई कारवाही सन्दर्भमा पार्टी ह्वीप उलङ्घन गरेको भनि अनुशासनको कारवाही भएको हो । कारवाही हुनुपथ्र्यो नै तर निर्मम कारवाही भयो की भन्ने मलाई पनि लागेको हो । जहाँसम्म पार्टी फुटाउन खोज्नेहरुको कुरा गर्नुभो पार्टी फुटाउन खोज्नेहरुलाई पार्टी विधानले व्यवस्था गरेको सामान्य प्रकृया समेत पुरा नगरि किन चोख्याइयो होला ? भन्ने मलाई लागिरहेको छ । यस्को सन्देश आम कार्यकर्ताहरुलाई के होला ? म आफै पनि अचम्मित छु । पार्टीले आखिर पार्टी अनुशासनका यी माथिका दुई घटनामा किन फरक फरक मापदण्ड अपनायो होला भन्ने प्रश्नको जवाफ दिने उपयुक्त व्यक्ति म हैन र मैले जवाफ पाएको छैन ।

० अन्ततिर जाउँ अहिलेको सरकारका गतिविधीलाई कसरी हेरीरहनु भएको छ ?
अहिलेको सरकारका गतिविधिका कुरा नगरौँ । जनताहरु भोकभोकै मरिरहेका छन्, आत्महत्या गरेर मरिरहेका छन् । सिंगो देशलाई लकडाउनमा राखेर जनजीवन अस्तव्यस्त अनि भ्रष्टाचारमा व्यस्त सरकारका गतिविधिका बारेमा के चर्चा गर्नु ? सरकार भन्ने चिज यति निर्मम भइसकेको छ कि यसले दैनिक रुपमा कति जना संक्रमित भए, कति जनाको मृत्यु भयो, कति जना क्वारेन्टिनमा छन् कति आइसोलेसनमा छन् यहि तथ्याङ्क सम्म सुनाइरहेको छ । यहि तथ्याङ्क सुनेर जनता कतिञ्जेल बाँच्छन् त्यहि हेर्न बाँकी छ ।

० मुलुकमा धेरै खाले समस्या छन यी समस्या कसरी समाधान गर्न सकिएला ?
यो सरकारबाट धेरै अपेक्षा नगरौँ । यसको खुट्टी देखेर चाल पाइसकियो । केही गर्ला भनेर आस पनि नगरौँ । यसको अर्थ निरास पनि नबनौँ । मुलुकमा सरकार बाहेक अर्को त्यस्तो संयन्त्र पनि छैन जसलाई विश्वास गर्न सकियोस् । त्यहि भएर एउटा मात्र अपेक्षा छ,
सरकारले जनजीवनलाई सहज बनाउने र यो लकडाउनको नाममा जनतालाई आतङ्कीत पार्ने काम बन्द गरिदिए मात्र पनि हुन्थ्यो ।-केशव अर्याल