नेपाली / English / हिन्दी

मन्त्रालय पुगेर स्थानीय तहका कर्मचारी समायोजनमा अल्झिएको समस्या समाधान गर्ने प्रयास थालेको छु : सचिव अर्याल

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याललाई आज विदाइ गरिएको छ । राष्ट्रिय सभा गृहमा बसेको महानगरको ५२ औं कार्यपालिका बैठकमा अतिथिका रुपमा आमन्त्रित सचिव अर्याललाई महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वुद्ध मूर्ति र कदर पत्रसहित विदाइ गर्नुभएको हो । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित कार्यपालिका सदस्यहरु हुनुहुन्थ्यो ।

गएको बर्ष फागुन १८ गते बसेको नेपाल सरकार, मन्त्री परिषद्को बैठकले उहाँलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित बिशिष्ट श्रेणी सचिवमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गरेको थियो । त्यस्तै २०७७ असोज २९ गते बसेको मन्त्री परिषद्को वैठकको निर्णयअनुसार उहाँलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा पदस्थापन हुनुभएको छ । उहाँले कार्तिक २ गते नै मन्त्रालयमा पदबहाली गरिसक्नु भएको छ ।

विदाइ अवसरमा बोल्दै प्रमुख शाक्यले भन्नुभयो — ‘कुशल प्रशासकलाई विदाइ गर्नु पर्दा नरमाइलो लागेको बताउनुभयो । यो नरमाइलोसँगै दुईवटा सम्भावना छन् । एउटा सचिव अर्यालले मन्त्रालयमा बसेर पनि काठमाडौं महानगरको चिन्ता गर्नुहुनेछ । अर्को उहाँकै बाटोमा पहिल्याएर निमित्त प्रमुख प्रशासकीय अधिकृत सहसचिव राजेश्वर ज्ञवालीले अर्यालले गर्न बाँकी रहेको काम गर्नुहुनेछ ।’

‘महानगरमा आउनु अघि मैले बुझेको महानगर र यहाँभित्र आएर काम गर्दा मैले चिनेको महानगर फरक पाएँ ।’ विदाइ अवसरमा बोल्दै सचिव अर्यालले भन्नुभयो — ‘डिजिटल हस्ताक्षर र राजस्वलाई अनलाइन प्रणालीमा लैजानु मैले गरेका केही सुधारका काम हुन् । महानगरको खर्च घटाउने निर्णय सुशासनका क्षेत्रमा थालिएको प्रयास थियो । सबैभन्दा महत्वपूर्ण कुरा प्रमुख प्रशासकीय अधिकृत र बिभागीय प्रमुखहरुका वीचमा गरिएको कार्य सम्पादन सम्झौता हो । मूल्याङ्कन सूचकसहित बार्षिक कार्य योजना तयार छ । यसलाई कार्यान्वयन गरे मात्र पनि सुधारलाई अङ्क गणितमा मापन गर्न सकिन्छ ।’

काठमाडौंलाई स्थानीय तहको नेतृत्वदायी भूमिका पु¥याउन आन्तरिक क्षमता विकास र काठमाडौं उपत्यकाको एकीकृत बिकासको सम्भावना अध्ययन गर्न समिति गठन गर्नुलाई दिगो प्रभाव राख्ने कार्यक्रममा रुपमा हेरिएको छ । महानगर आउनु अघि उहाँ नेपाली महाबाणिज्य दूताबास कोलकत्तामा महावाणिज्यदूत हुनुहुन्थ्यो । भारतको महावाणिज्य दूताबासबाट सरुवा भएर बरबुझारथ गरेपछि नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुुरु भइसकेको थियो ।

बिदेशबाट फर्कनेले १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नु पर्ने सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर उहाँ १५ औं दिन कार्यभार सम्हाल्न महानगरमा आउनुभएको थियो । २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गर्नुभएको अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा हुनुभएको हो । २०७२ सालको महाभूकम्पका समयमा उहाँ काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि महानगरबाट प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरेर सरुवा भइ जानेमा अर्याल पाँचौ हुनुहुन्छ । जनप्रतिनिधिले पदबहाली गर्दा ईश्वरराज पौडेल हुनुहुन्थ्यो । त्यसपछि क्रमशः धनिराम शर्मा, यादव कोइराला, केदार न्यौपानेले महानगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसक्नु भएको छ । उहाँहरुमध्ये कोइराला, न्यौपाने र अर्याल सचिव हुनुहुन्छ भने पौडेल र शर्मा सहसचिव हुनुहुन्छ । पदस्थापन हुन आउने र जाने समयका बीचका केही समय सहसचिव ज्ञवालीले निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसक्नु भएको छ ।