नेपाली / English

महामारीको तथ्य एकिन छैन : हतार नगरौं, झन् जोखिम हुन सक्छ — विज्ञहरुको सुझाव

काठमाडौं । कोविड १९ महामारीका कारण बन्द रहेका काठमाडौंभित्रका विद्यालय तत्काल नखोल्न बिज्ञहरुले सुझाव दिएका छन् । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा हिजो राष्ट्रिय सभा गृहमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा बिज्ञहरुले, पछि पछुतो गर्ने गरी अहिले हतार नगर्न सुझाव दिनुभएको हो । काठमाडौंमा कोविड १९ को संक्रमण कुन अवस्थामा छ? एकिन छैन । अहिले जाडो मौसममा सामान्य अवस्थामा पनि विद्यालय बन्द नै रहन्थे । यो मौसम भाइरस फैलिन उपयुक्त भएकोले पनि विद्यालय खोल्न हतारिनु हुँदैन । बरु बैकल्पिक सिकाइका उपायलाई प्रभावकारी बनाउँदै लैजानु पर्छ । बिज्ञहरुको सुझावको सार थियो ।
कोविड १९ को महामारी नियन्त्रण आइ नसकेको अवस्थामा विद्यालयको शैक्षिक गतिबिधि अगाडि बढाउन कार्तिक २० गते शिक्षामन्त्री स्तरीय निर्णयले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ स्वीकृत छ । यसले विद्यालय पुनः सञ्चालनको निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ । यस सन्दर्भमा काठमाडौं महानगरको शिक्षा बिभागले जिल्ला संकट व्यवस्थापन केन्द्रसमक्ष सरोकारवाला अधिकारी बोलाएर शैक्षिक कार्यक्रम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल चलाएको हो ।

छलपलमा प्रमुख जिल्ला अधिकारीले कालीप्रसाल पराजुलीले बैठकमा व्यक्त धारणा राख्दै सामान्य अवस्था हुँदा पनि चिसो मौसममा विद्यालयहरु बन्द नै हुने गरेका थिए । अहिले कोविड १९ संक्रमणको अवस्था कस्तो छ ? भन्न सकिने अवस्था छैन । अन्तरराष्ट्रिय अभ्यास हेर्दा पनि भाइरसको तरङ्गले चरण—चरणमा समस्या बनाएको बताए । जहाँसम्म स्वास्थ्य सुरक्षा मापदण्डको कुरा छ । ठूला व्यक्तिले पनि उचित तरिकाले मास्कको प्रयोग गरेका छैनन् । स्यानिटाइजरको प्रयोग गरेका छैनन् । यसबेला विद्यालय उमेरका बालबालिकाले स्वास्थ्थ मापदण्ड पालना गर्न सक्छन् भन्न सकिँदै्रन । भाइरसको संक्रमणबाट बच्न साबुन पानीले हात धुन जरुरी छ । कति विद्यालयले साबुन पानीको प्रबन्ध गर्न सक्छन् ? कति विद्यालयसँग सामाजिक दुृरी कायम गराउन सक्ने खालको भौतिक संरचना छ । यो अहिलेका लागि अहम् प्रश्न हो ।
मैले यहाँ आउनु अघि स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयमा कुरा गरेर आएको छु । उहाँहरुसँग कुराकानी गर्दा विद्यालय खोल्ने सकिने अवस्था रहेको पाइन । स्वास्थ्य मन्त्रालयले पुष भरि काठमाडौंका धेरैभन्दा धेरै परीक्षण गर्ने भनेको छ । यसबाट महामारीको वास्तविक अवस्थाको नजिक पुग्न सकिएला । त्यसपछि विद्यालय खोल्ने विषयमा निर्णय गर्नुपर्छ । अहिले हतार गरेर खोल्दा भोलि थेग्न नसक्ने अवस्था आउन सक्छ । जहाँसम्म काठमाडौंका अन्य नगरमा विद्यालय सञ्चालन भए भन्ने हो । यसलाई सम्बन्धित पालिकासँगको सहकार्यमा हामी अनुगमन गर्छौं । त्यहाँको अवस्था हेरेर भोलि बन्द गराउनु पर्ने पनि हुन सक्ने प्रष्ट पार्नु भयो ।

प्रमुख, जिल्ला समन्वय समितिका शिवसुन्दर राजवैद्यले कोविडकारण बन्द भएका काठमाडौंमा सार्वजनिक ठाउँहरु ध्माधम खुल्दैछन् । ती कसरी खुले? कसको निर्णयले खुले? सरकारले अहिले पनि भीड भाड हुने सबै खालका गतिबिधिलाई रोकेको छ । यही बेला सार्वजनिक यातायात खुले । त्यहाँ कसैले पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेका र्छैनन् । पार्टी प्यालेसहरुमा भोज चल्न थालेका छन् । त्यहाँ मानिसहरु निष्फिक्री खानेकुरा खाइरहेका छन् । यस्ता कारणले समुदायमा रोगको अवस्था थाहा छैन । यही बेला विद्यालय खोलेर बालबालिकाहरु माथि जोखिम उठाउनु हुँदैन । जाडो सकियोस् । यस अवधिमा महामारीको अवस्था हेरौं । त्यतिञ्जेल बैकल्पिक शिक्षालाई बढाउँदै र प्रभावकारी बनाउँदै लैजानेतर्फ सोचौं । हतारमा विद्यालय नखोलौं । हुन त यहाँभित्र पनि व्यवसायिक कुरा पनि आउँछ । तर, भोलिको भयावह अवस्थाभन्दा अहिलेको व्यवसायिक क्षति कम हुन सक्छ । यसतर्फ शैक्षिक क्षेत्रका लगानीकर्ताले पनि सोच्नुपनेमा आफ्नो धारण राख्नु भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले म केही अन्तरराष्ट्रिय अभ्यास सुनाउँछु । व्यवस्थापकीय क्षमता दरो भए पनि कोविड महामारी नियन्त्रण गर्न दक्षिण कोरियाले फेरि लकडाउन ग¥यो । फ्रान्स, जर्मनी, वेलायतलगायत देशले फेरि लक डाउन गरेका छन् । काठमाडौं र ललितपुरमा घनाबस्ती भएकाले जोखिम पनि बढी नै छ । यहाँ संक्रमण बढेको अवस्था छ । विद्यालय सञ्चालन गरेपछि छात्राबास खोल्ने कुरा आउँछ । विद्यालयका सवारी चलाउने कुरा आउँछ । त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ? बिद्यालय खोल्न हतार गरेर भोलि थेग्न नसक्ने समस्या निम्त्याउनु हुँदेन । बरु बैकल्पिक शिक्षालाई नै मजवुत बनाउनेतिर सोचौं । यो मेरो व्यक्तिगत धारणा हो । महानगरले सबैको कुरा सुनिसकेपछि निर्णय गर्ने भन्नेबारे धारणा राख्नु भयो ।

काठमाडौं महानगरपालिका वडाध्यक्ष, वडा १६ का मुकुन्द रिजालले विद्यालय खोल्न अहिले निजी क्षेत्रबाट बढी दवाब छ । विद्यालय खोलेर भोलि कोही बालबालिकामा संक्रमण देखियो भने सबैको मनोबल गिर्छ । विद्यालयमा आएका नानीबाबुमध्ये एकजनामा मात्र पोजेटिभ देखियो भने के गर्ने? व्यवस्थापनको सही तरिका र अवस्था सृजना नगरी विद्यालय खोल्न हतार नगरौं । विद्यालयमा बालबालिकालाई स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउन कठिन छ । यो बारे पनि सोचौं । कोविडको डर कम भएको छ । संक्रमणको खतरा कम भएको छैन । अहिले मानिसहरुले कोविड परीक्षण गराउन जान नै चाहेका छैनन् । स्वास्थ्य मापदण्डको पनि राम्ररी पालना गरेका छैनन् । जोखिम झन बढ्ने अवस्थामा छ । त्यसैले मेरो सुझाव भनेको, विद्यालय खोल्न हतार नगरौं । बरु बैकल्पिक शिक्षालाई प्रभावकारी बनाउनतिर लागौं भन्ने आफ्नो विचार व्यक्त गर्नु भयो ।

जनस्वास्थ्यविज्ञ डा. गणेश गुरुङ्ले ठूला कक्षामा अनलाइन कक्षा ठीकै भए पनि साना बालबालिकाका लागि उपयुक्त छैन । ठूला कक्षाका विद्यार्थी पनि अनलाइनबाट पाठभन्दा प्रबिधि सिकिरहेका छन् । अर्कोतिर महामारीको समस्या सकिएको छैन । विद्यालय बन्द गर्ने तर कहिलेसम्म ? अब यसको पनि उत्तर खोज्नुपर्छ । बन्द विद्यालयबाट उत्पन्न समस्या समाधान गर्न विकल्प दिनुपर्छ । महामारीको तथ्य एकिन नभएकोले एकैपटक विद्यालय खोलि हालौं भन्ने अवस्था पनि छैन । त्यसैले महामारी नियन्त्रण र शैक्षिक गतिबिधिको निरन्तरतालाई योजना बनाउँदै लैजानुपर्छ । जोखिमको अवस्था हेरेर निर्णय लिनुर्पे बताउनु भयो ।

अर्का जनस्वास्थ्यविज्ञ डा. सरोज वन्तले हामी अहिले महामारीको कुन अवस्थामा छौं । तथ्यगत रुपमा भन्न सक्ने अवस्थामा छैनौं । तथ्य र तथ्याङ्को विश्लेषणयिना लिइएका निर्णयले जोखिम बढाउँछ । अहिले हामीसँग प्राप्त सूचना सीमित छन् । यो सूचना विश्लेषण गरेर निर्णयमा पुग्न सकिँदैन । विद्यालय खोल्नका लागि समुदायमा संक्रमणको अवस्था पत्ता लगाउनुपर्छ । भोलि त्यही समुदायबाट विद्यालयमा समस्या आउन सक्छ । यो जोखिम पूर्वअनुमान हुनुपर्छ । भाइरसकालागि अहिलेको मौसम अनुकुल छ । यसकारण पनि अहिले विद्यालय खोल्न हतार गर्नु हुँदैन । तर अहिले विद्यालय कसरी खोल्ने भन्ने विषयमा जसरी बहस चलेका ेछ । यो महत्वपूर्ण छ । जरुरी रहेको बताउनु भयो ।

प्रमुख समन्वय अधिकारी, जिल्ला समन्वय समिति, काठमाडौंका पिताम्बर अधिकारीले अहिले कोविड महामारीको जुन अवस्था छ । यसपछाडिको कारण भनेको हामीले स्वास्थ्य मापदण्ड पूरा नगरेकोले हो । ठूला मान्छेले त स्वास्थ्य मापदण्ड पूरा गर्न सक्दैनन् भने बालबालिकाले कसरी गर्छन् ? विद्यालयले यसलाई कसरी कार्यान्वयन गराउँछन् ? विद्यालय खोलिसकेपछि स्वास्थ् मापदण्ड पूर्ण पालना हुन्छ भन्नेमा विश्वसनीय आधार छैन । विद्यालय संक्रमण फैलिने ठाउँ बन्नु हुँदैन । जनस्वास्थ्य विज्ञहरुले दिएको सुझावअनुसार केही समय हेर्नुपर्ने नै देख्छु म पनि । अहिले हतार गरेर भोलि व्यवस्थापन क्षमताभन्दा ठूलो समस्या आउने हो कि भन्ने डरप्रति अहिले नै संवेदनशील हुनुपर्ने बताउनु भयो ।

महानिर्देशक, स्वास्थ्य मन्त्रालयका महेन्द्रमान श्रेष्ठले अहिले परीक्षण कम भएकोले संक्रमण कम देखिएको हो । २०७६ असोजमाभन्दा २०७७ असोजमा मृत्युदर दोब्बर छ भने २०७६ को कार्तिकमाभन्दा २०७७ को कार्तिकमा चारगुणा छ । अहिले कतिपय क्रिटिकल केयरका विरामी घरमै छन् । हामी पुष भरिमा काठमाडौंभित्र करीब ५० हजार व्यक्तिको परीक्षण गराउने योजनामा छौं । पोजेटिभ केसलाई अलग बनाउँदै रोग नियन्त्रण गर्ने हो । अब काठमाडौंमा हुने परीक्षणले अवस्था अनुमान गर्न सकिने हुन्छ । त्यस अवधिमा विद्यालयहरुलाई स्वास्थ्य मापदण्ड सम्बन्धि केही पालना गराउनु पर्ने कुरा छन् भने पालना गराउनु पर्नेमा जोड दिनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी, काठमाडौंका जीवनप्रसाद दुलालले म पनि अभिभावक हुँ । अहिलेको अवस्थामा नानीहरु विद्यालय पठाउन अभिभावकको ठाउँमा बसेर सम्भव देख्दिन । अहिले चिसो पनि छ । नानीहरुलाई स्कूल पठाउन यो त्यसै पनि प्रतिकुल समय हो । यो शैक्षिक सत्र अनलाईन कक्षालाई प्रभावकारी बनाएर परीक्षा प्रणाली पनि त्यसैबाट चलाऔं । आउँदो बर्षका लागि मजवुत तयारी गरौं र नयाँ शैक्षिक सत्रबाट विद्यालय खोलौं भन्ने सुझाव वक्त गर्नु भयो ।

प्रमुख, महानगरीय प्रहरी परिसर, टेकुका अशोक सिंहले सम्भावित खतराको पूर्व अनुमान गरौं । चिसो छ । भाइरस फैलिन सक्छ । हतार नगरौं । स्वास्थ्य सुरक्षा मापदण्ड बलियो भएपछि मात्र विद्यालय खोल्न सकिन्छ । परीक्षण गरेर तथ्याङ्क एकिन भएपछि भन्न सकिएला भन्ने भनाइ राख्नु भएको थियो ।

ईकाई प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई, काठमाडौंका नन्दलाल पौडेलले काठमाडौं जिल्लाका ११ वटा स्थानीय तहमध्ये ९ वटाले आलापालो प्रणाली, दिनको २ घण्टाजस्ता विधिबाट विद्यालय सञ्चालन गरेका छन् । हामीले यसका लागि सहजीकरण र अनुगमन पनि गरेका छौं । यो अभ्यास थालिएको ३ महिना भयो । अहिलेसम्म विद्यालय सञ्चालन गरेकै कारण कोविड को संक्रमण भयो भनेर सूचना आएको छैन । सबै विद्यालयमा सुरक्षा मापदण्ड पालना नभएको गुनासो पनि छ । यसमा सुधार गर्नुपर्ने देखिन्छ । अब पनि विद्यालय नखोल्ने हो भने कहिलेसम्म बन्द गर्ने ? यसले विद्यार्थीहरुमा निराशा ल्याउला कि भन्ने भय पनि रहेको आशंका व्यक्त गर्नु भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंकि पार्वती विष्टले काठमाडौं महानगर कोविडको हटस्पट हो । अहिले मान्छेहरु कोविडको परीक्षण गराउनै चाहँदैनन् । परीक्षण गर्न आउने मान्छेहरुमध्ये कि त विदेश जानुपर्ने हुन्छन् । कि त बीमा दावी गर्नुपर्ने हुन्छन् । संक्रमणको जोखिम देखिएका बर्ग र समुदायका मानिसहरु जँचाउन आएका छैनन् । काठमाडौंंका मान्छेमा कोविडको डर हरायो तर केस हराएको छैन । ठूला र बुझेका मान्छेले स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् भने विद्यालयका बालबालिकाले झन् गर्दैनन् । त्यसैले विद्यालय खोल्न हतार गर्नुहुँदैन । पहिले सक्रिय विरामीको संख्या पहिचान गर्नुपर्छ । उनीहरुलाई अरुबाट अलग बनाएर उपचार गर्नुपर्छ । अनि मात्र यस्ता बिषयमा निर्णय गर्न सकिने बताउनु भयो ।

प्रमुख, शिक्षा बिभाग, काठमाडौं महानगरपालिकाका नमराज ढकालले महामारीको अवस्थामा विद्यालय शिक्षा पुन सञ्चालन गर्ने जिम्मेवारी स्थानीइ तहलाई प्राप्त भएको छ । विद्यालय शिक्षा व्यवस्थापन गर्ने संवैधानिक अधिकार त छँदै थियो । गएको कार्तिकमा भएको मन्त्रीस्तरीय निर्णयबाट कोविडका कारण बन्द भएका विद्यालय पुनः सञ्चालन गर्ने जिम्मेवारी पालिकालाई नै दिएको छ ।
त्यसपछि हामीले क्रमशः छलफल गर्दै आएका छौं । यसअघि अभिभावक, शिक्षक—शिक्षिका, निजी तथा आवासीय विद्यालयका संगठनहरु प्याब्सन र एनप्याब्सनसँग कुराकानी गरिसकेका छौं । आज जिल्ला संकट व्यवस्थापन केन्द्रका अधिकारी र अन्य सरोकारवालासँग छलफल ग¥यौं । अहिलेसम्म हामीलाई विद्यालय खोल्ने र नखोल्ने दुवै क्षेत्रबाट बराबरी मत आएका छन् । आजको छलफलले एकमहिना विदालय नखोल्ने सहमति गरेको छ । अब हामी बैकल्पिक सिकाइलाई थप प्रभावकारी बनाउँदै थप तयारी अगाडि बढाउँछौं । काठमाडौंमा कोविडको जोखिक घटेर खतरा कम हुँदै गएपछि क्रमशः निर्णय गर्दै जाने कुरा प्रष्ट पार्नु भयो ।