नेपाली / English / हिन्दी

जनता समाजवादी पार्टीले पुस २५ देखि माघ ७ सम्म देशका १४ स्थानमा वृहत विरोधसभाको आयोजना गर्ने

मोरङ । २०७७ साल पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति विद्यादवी भण्डारीद्वारा प्रतिनिधि सभा (संघीय संसद) विघटन गरिएको छ । नेपालको संविधान–२०७२ संसदबाट सरकार गठनको विकल्पहरु समाप्त भएको अवस्थामा मात्रै प्रधानमन्त्रीेले संसद भंग गर्ने प्राबधान राखिएको छ । दुईतिहाई बहुमत निकट प्रधानमन्त्रीलाई संविधानले दिदै नदिएको अधिकार प्रयोग गरी लहड र सनकको भरमा संसद भंग गरिएको कार्य असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम हो ।

जन आन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह, थारु, मुस्लिम, शिल्पी (दलित), लिम्बुवानलगायत आदिवासी जनजाति आन्दोलन र जनसंघर्षहरुका बखत जनताले गरेको संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरु (संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशीकरण, धर्मनिरपेक्षता, नागरिक स्वतन्त्रता, मौलिक हक आदि) धरापमा पारिएका छन् । तसर्थ मुक्तिकामी जनताको संघर्ष र बलिदानद्वारा प्राप्त उपलब्धिहरुको रक्षा गर्न प्रधानमन्त्रीको असंबैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमलाई खारेज गराउन र बाँकी अधिकारहरु प्राप्त गर्नका लागि सशक्त जनसंघर्ष गर्नुको विकल्प छैन ।

त्यसैले प्रधानमन्त्रीको यस प्रकारको संबैधानिक ‘कु’ का विरुद्ध जनता समाजबादी पार्टी, नेपालले आन्दोलन एवम् जनसंघर्षका चरणबद्ध कार्यक्रमहरु अघि सारेको छ । जनता समाजवादी पार्टीले संसदको प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम जारी छ । यसअघि गत पुस ८ गते, पुस १०, ११, १२ गते पुत्ला दहन, मसाल जुलुस, ¥याली लगायत कार्यक्रमसहित देशव्यापी आन्दोलन गरेको थियो । जसपाले आगामी पुस २५ देखि माघ ७ गतेसम्म देशका विभिन्न सहरका १४ स्थानमा विरोधसभा आयोजना गर्दैछ ।

सो क्रममा असंबैधानिक तथा अलोकतान्त्रिक संसद विघटन खारेज गर, संघीय सर्वोच्चता कायम गर, निरंकुश प्रधानमन्त्री मुर्दाबाद, प्रतिगामी प्रधानमन्त्री होसियार, होसियार, स्वेच्छाचारी निर्णय खारेज गर, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू गर, प्रतिनिधि सभा पुनःस्थपाना गर, संघीय लोकतन्त्र गणतन्त्र नेपाल जिन्दाबाद, संघीय लोकतान्त्रिक गणतन्त्रबादीहरु एक हौं, जनताको सर्वोच्चता जिन्दाबाद, संघीय सर्वोच्चता कायम गर, वीर सहि अमर रहुन, रेशम चौधरी लगायत राजाबादीहरु रिहा गर, झुटा मुद्दा खारेज गर, जनता समाजवादी पार्टी नेपाल आउ, देश बचाउ, जनता समाजवादी पार्टी, नेपाल जिन्दाबाद नाराका साथ २०७७ साल पुस २५ गते विहान ११ वजे विराटनगरको वीरेन्द्र सभा गृहबाट ¥याली सुरु भई महेन्द्र चोकमा बृहत जनप्रदर्शन एवम् विरोध सभा गरिने भएको छ ।

पूर्व प्रधानमन्त्री एवम् संघीय परिषद् अध्यक्ष माननीय डा.बाबुराम भट्टराई, पूर्व उप–प्रधानमन्त्री एवम् केन्द्रीय कार्यकारिणी अध्यक्ष माननीय उपेन्द्र यादब, पूर्व मन्त्री एवम् केन्द्रीय कार्यकारिणी सदस्य माननीय लक्ष्मण लाल कर्ण लगायत नेताहरुको सम्बोधन हुने भन्दै जसपा प्रचार प्रसार उपसमिति मोरङले विज्ञप्ति जारी गरेको छ । त्यस्तै सोही दिन धनगढीमा हुने विरोध सभामा नवराज सुवेदी, दुर्गा सोव र गोविन्द चौधरीले र भैरहवामा हुने विरोध सभामा महन्थ ठाकुर, सर्वेन्द्रनाथ सुक्ला र महेन्द्र राय यादवले सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ ।-फिपराज