नेपाली / English

आपतमा सेवा दिने नयाँ सडकको दमकल भवन पुननिर्माण गर्न पुरातत्व विभागले सहमति दिएन, २३ औं भूकम्प सुरक्षा दिवसमा काठमाडौंमा स्मृति सभा र दमकल प्रदर्शनी

काठमाडौं । १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा आयोजना गरियो । महानगरले हरेक बर्ष माघ २ गते स्मृति सभा आयोजना गर्ने गरेको छ । विगतका भूकम्पहरुको क्षति सम्झना गर्दै आगामी दिनका सम्भावित जोखिमबाट बच्न सचेतना सन्देश दिने उद्देश्यले सभा आयोजना गर्ने गरिएको हो ।

सभामा बोल्दै गृहमन्त्री रामबहादुर थापाले आन्तरिक समन्वयले सम्भावित क्षति घटाउन सहयोग गर्ने बताउनुभयो । ‘नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नु पर्ने अवस्था छ ।’ मन्त्री थापाले भुकम्पीय क्षति कम गराउन सुरक्षित भवन निर्माण र कोविड १९ को संक्रमणबाट बच्न संयुक्त प्रयासको खाँचो देखाउनुभयो ।

त्यस क्रममा बोल्दै काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले, सम्भावित विपत्तिबाट बच्नका लागि पूर्व तयारी, प्रचलित कानुनको पालना र आपसी समन्वय संयन्त्र बलियो बनाउनु पर्नेमा जोड छ । आगलागीको सन्दर्भ उठाउँदै मेयर शाक्यले भन्नुभयो — ‘आगलागी एक्लै ठूलो घटना हो । यो घटना भूकम्पजस्ता विपत्तिबाट पनि सिर्जना हुन्छ । काठमाडौंको दमकल सेवालाई विस्तार गर्ने क्रममा हामीले बौद्धमा आधुनिक भवनसहितको सेवा सुरु गरिसकेका छौं । महाराजगञ्जमा भवन निर्माणको चरणमा छ । नयाँ सडकको भवन पुरानो छ । हामीले यसलाई पुननिर्माण गर्न चाहेका छौं । तर, पुरातत्व विभागले सहमति दिएन । रातविरात उठेर सेवामा जानु पर्ने अग्नि नियन्त्रक आफैं जोखिममा बसेका छन् ।’ मेयर शाक्यले थप्नुभयो — ‘यो भवन पुननिर्माण गर्न सहयोग आवश्यक छ ।’ उहाँले भूकम्पीय क्षति न्युनीकरणका लागि महानगरले भवन निर्माण मापदण्ड जारी गरिसकेको र कोविड १९ को महामारीबाट बच्न संघ र प्रदेश सरकारभन्दा अगावै कोष स्थापना गरेर प्रयास थालिएको बताउनुभयो ।

विपत्तिको सामना गर्न व्यक्तिको सजगतादेखि सरकार र यी सबै संयन्त्रलाई व्यवस्थापन गर्न कानुनी साक्षरताको कुरा गर्दै कार्यक्रममा महानगरकी डेपुटी मेयर हरिप्रभा खड्गी श्रेष्ठले, विपद् जोखिमको सामना गर्न स्थानीय तहलाई क्षमतावान बनाउनु पर्नेमा जोड दिनुभयो । ‘०७२ सालको भूकम्पले दिएको धक्का धेरैको मनमा ताजै छ । यो धक्काले सिकाएको पाठ विर्सियो भने भोलि क्षतिको परिमाण झन् बढ्न सक्छ । यसलाई कम गराउन महानगरले एकीकृत बस्तीलगायतका अवधारणालाई कार्यान्वयन चरणमा पु¥याएको छ ।’ उहाँको भनाइ थियो । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले, समुदाय स्तरमा विपद् व्यवस्थापन गर्न स्थानीय तहलाई क्षमता विकास गर्न, स्वयमसेवकको अवधारणालाई मूर्त रुप दिन लागेको बताउनुभयो ।

महानगरले विपत पूर्व तयारीका लागि समुदाय स्तरमा काम गरिरहेको विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यको भनाइ थियो । स्मृति सभामा ससस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रबहादुृर साउद, नगर प्रहरी जवान मोहन चौधरी र नगर प्रहरी जवान विपिन घिमिरेलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । २०६८ साल मंसिर २८ गते बेलुका वीर अस्पताल अगाडि भएको आगलागी नियन्त्रणका क्रममा साउदको एउटा हात गुमेको छ ।

भूगोल पार्कको स्मृति सभापछि गृहमन्त्री थापाले दमकल प्रदर्शनी र जुद्ध बारुण यन्त्र कार्यालय भवनको निरीक्षण अवलोकन गर्नुभएको थियो । दमकल भवन पुरानो र जीर्ण छ । मन्त्री थापालाई मेयर शाक्यले भवनको माथिल्लो तलामा अग्नि नियन्त्रक बस्ने कक्ष र खाना बनाउने कक्ष देखाउनुभएको थियो । २०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको भवनमा अग्नि नियन्त्रकहरु बस्ने गरेका छन् ।

काठमाडौं बारुण यन्त्र कार्यालय (जुद्ध बारुण यन्त्र कार्यालय) का प्रमुख लीलाराज गाछाकाअनुसार दकमल प्रदर्शनीमा ४ वटा चालु अवस्थाका नयाँ दमकल, १९९४, २००१ र २०१५ सालका ३ वटा पुराना दमकल, २ वटा ल्याडर, १ वटा मिनी दमकल, एउटा हलुका र एउटा हेभी रेस्क्यु ट्रक, एउटा पानी ट््याङ्की र एउटा लाइट पोर्टेवल पम्पलगायत आगलागी नियन्त्रण तथा उद्धार कार्यमा प्रयोग हुने उपकरण तथा साधन राखिएका छन् । प्रदर्शनी भोलिसम्म रहनेछ ।

महानगरले यो भवन पुननिर्माण गर्ने योजना बनाएको छ । तर पुरातत्व बिभागको सहमति प्राप्त गर्न नसकेर योजना अड्किएको छ । १९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ । त्यस बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।- चन्द्रमणि भट्टराई