नेपाली / English

तारकेश्वर धाम निर्माण कार्य समुदघाटन

काठमाडौं । तारकेश्वर धाम निर्माण काम थालनीको शुभारम्भ भएको छ । तारकेश्वर नगरपालिका वडा ३ जीतपुरफेदी पाँचमानेमा आयोजना गरिएको एक कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, तारकेश्वर नगरका प्रमुख रामेश्वर बोहोरा, उपप्रमुख भवानी डोटेल धितालले संयुक्त रुपमा काम थालनीको उद्घाटन गर्नुभएको हो । यो धाम तारकेश्वर नगरको वडा २ र ३ क्षेत्र शिवपुरी जङ्गल क्षेत्रमा पर्छ ।
काठमाडौं महानगरपालिकाले जिल्लाका सबै नगरलाई सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्धन र पार्क निर्माणका लागि प्रस्तावित योजनाका लागि जनही १÷१ करोड रुपैयाँ उपलब्ध गराएको छ । यस क्रममा तारकेश्वर नगरले वडा नं. ३ तारकेश्वर धाम निर्माण गर्ने योजना महानगरमा पठाएको थियो । चारैतिर सार्वजनिक जङ्गल रहेको भूमागको बीचको करीब १० रोपनी सार्वजनिक जग्गामा महादेवको मूर्तिमा पुग्ने सिढीँ, सन्त महन्त बस्ने कुटी, पोखरी, सत्तल, प्रवेश द्वार निर्माणलगायत हुनेछन् । त्यस्तै पाटी, शौचालय, ओत लाग्ने ठाउँहरु, बस्ने ठाउँहरु, भ्यू प्वाइन्ट, बाबा आश्रम बनाउने तथा हरियाली बढाउने काम हुनेछन् ।

शिलान्यासपछि बोल्दै महानगरका प्रमुख शाक्यले, आपसी समृद्धिमा हातेमालो गर्दै समृद्ध उपत्यकाको परिकल्पना गरेर नगर—नगर साझेदारी कार्यक्रमअन्तर्गत सहयोग गरिएको बताउनुभयो । ‘कचौरा आकारको काठमाडौं उपत्यका प्रशासनिक रुपमा विभिन्न भौगोलिक क्षेत्रमा विभाजन छ । उपत्यकाको भूगोल विकासका कोणबाट आपसमा अन्तरसम्बन्धित छ । अरु ठाउँ छोडेर एउटा क्षेत्रको मात्र विकास गर्न सम्भव छैन । त्यसैले हामीले काठमाडौंको सबै नगरको विकासलाई सँगै लिएर जान लगानी गरेका छौं ।’ शाक्यले थप्दै भन्नुभयो — ‘एक्लै हिँडेर होइन, सँगै हिँडेर गन्तव्यमा पुग्ने कुरामा हाम्रो विश्वाश छ । कामको प्रगतिका आधारमा महानगरले थप सहयोग गर्न सक्छ । ’

काठमाडौं महानगरले उपलब्ध गराएको १ करोड रुपैयाँमा तारकेश्वर नगरले १ करोड रुपैयाँ थपेर एकमुष्ठ २ करोड रुपैयाँ लागतमा धामको विकास भइरहेको छ । धाम निर्माणका विषयमा जानकारी दिँदै तारकेश्वर नगरका प्रमुख बोहोराले महानगरबाट उपलब्ध गराइएको सहयोगका बारेमा चर्चा गर्दै भन्नुभयो — ‘काठमाडौं महानगरको सहयोगले हामी यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउँछौं । खुल्ला ठाउँ बचाएर सहरी पूर्वाधार तयार गर्न हामीसँग ठाउँ छ । महानगरसँग स्रोत छ ।

दुवैको आपसी सहकार्यमा उपत्यकाको मानव जीवन सहज बनाउने दिशामा हाम्रा योजना अगाडि बढ्नेछन् ।’ काठमाडौं महानगरको बालाजु वाइपासबाट करीब १५ किलोमिटर दुरीको यात्रामा पाँचमाने पुगिन्छ । त्यहाँबाट आधा घण्टाको पैदल यात्रापछि धाम क्षेत्रमा पुगिन्छ । शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै धाममा पुग्न सकिन्छ । यस ठाउँमा सती देवीको दायाँ तिघ्रो पतन भएको विश्वाश गरिन्छ । यही विश्वाशका आधारमा स्वस्थानी व्रतका समयमा यस ठाउँमा मानिसहरु आउने जाने गर्छन् । त्यस्तै जनै पूर्णिमाका दिन यहाँको पोखरीमा स्नान गर्न मानिसहरुको वाक्लो उपस्थिति हुने गरेको छ ।-चन्द्रमणि भट्टराई