नेपाली / English

राजस्व अनुगमनमा काठमाडौँ महानगर : कर तिर्नेलाई धन्यवाद र नतिर्नेलाई हाजिर हुने पत्र

एउटै घरका वल्लोपल्लो सटरको भाडा दर धेरै रकमले तलमाथि छ — विभागीय प्रमुख डा. अधिकारी
काठमाडौँ । काठमाडौँ महानगरको राजस्व विभागले बजार अनुगमन थालेको छ । हिजोबाट विभागका प्रमुख डा. शिवराज अधिकारीको नेतृत्वमा थालिएको अनुगमनका क्रममा कर तिर्नेलाई धन्यवाद पत्र र नतिर्नेलाई विभागमा हाजिर हुने पत्र थमाउने गरिएको छ । व्यवसाय दर्ता नगर्ने, वहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम राजस्व तिर्न खोज्ने वा कर छलीको शंका लागेका व्यवसायीलाई ७ दिनको समय दिएर विभाग बोलाइएको हो ।

टोलीले हिजो नयाँ सडक क्षेत्रको बजार हेरेको थियो भने आज वडा २ लाजिम्पाटदेखि पानी पोखरी हुँदै महाराजगञ्जसम्म मुल सडक किनारामा रहेका पसलहरुको प्रतिनिधिमुलक रुपमा अनुगमन गरिएको थियो । व्यवसाय दर्ता र नविकरण, बहाल कर, सम्पत्ति करलगायत महानगरलाई तिर्नु बुझाउने पर्ने कर तिरे नतिरेको अनुगमनका क्रममा हेरिएको थियो ।

एउटै घरका दुईवटा सटरको भाडा दर धेरै रकमले तलमाथि देखियो । एउटा सटरको भाडा १० हजार रुपैयाँ, अर्कोको २० हजार रुपैयाँ र छिमेकीको ४० हजार रुपैयाँ छ । अनुगमनबाट प्राप्त अवस्थाका बारेमा जानकारी दिँदै राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले भन्नुभयो — ‘भाडा दरमा यति धेरै तलमाथि हुनुलाई हामीले राजस्व असुली र राजस्व प्रशासनका कोणबाट गम्भीरताका साथ हेरेका छौँ । जागरणमुलक र शिक्षामुलक कार्यक्रमबाट करदातालाई करका विषयमा जानकारी दिन्छौं र कानुनले दिएको अधिकार प्रयोग गरेर राजस्व असुली गर्ने अबको हाम्रो योजना हो ।’

व्यवसाय दर्ताको अवस्था ठीकै छ । व्यवसाय कर तिर्नेको तुलनामा बहाल कर तिर्ने करदाताको संख्या कम छ । विभागका उपनिर्देशक विकास चित्रकारले अवस्थाका बारेमा जानकारी दिनुभयो । विभागको अनुगमनमा सम्बन्धित वडाका जनप्रतिनिधि, नगर प्रहरी, विभाग र वडाका कर्मचारी रहेका छन् । प्रतिनिधिमुलक यो अनुगमनपछि वडास्तरबाट अनुगमन टोली परिचालन गर्ने विभागले योजना बनाएको छ ।