नेपाली / English

आन्दोलनका कार्यक्रमहरु स्थगन, नेपाल पत्रकार महासंघ र प्रेस मञ्च नेपालबीच दुई बुँदे सहमति

काठमाडौं । नेपाल पत्रकार महासंघ र प्रेस मञ्च नेपालबीच दुई बुँदे सहमति भएको छ । महासंघका सचिव प्रकाश थापा र मञ्चका महासचिव निमेष कर्णले विहीबार दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सहमतिसँगै मञ्चले सुरु गरेका आन्दोलनका कार्यक्रमहरु स्थगन भएको छ । दुई बुँदे सहमतिको पहिलो बुँदामा विभिन्न जिल्लामा देखिएको सदस्यता विवाद समाधानमा मञ्चले राखेका माग सम्बोधनका लागि महासंघ प्रतिबद्ध रहेको उल्लेख छ ।

यसका लागि महासंघले निर्वाचन समितिलाई आग्रह गर्ने सहमतिपत्रमा उल्लेख छ । ‘महासंघको घोषित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न मञ्च प्रतिवद्ध छ,’ सहमतिपत्रको दोस्रो बुँदामा उल्लेख छ । मञ्चले महासंघको वर्तमान केन्द्रीय नेतृत्वले विभिन्न जिल्लामा केन्द्रबाट आफूखुसी सदस्यता थप्ने, नवीकरण गर्ने काम गरेको भन्दै यसको विरुद्धमा विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।