नेपाली / English

हामीले पटक पटक जनताबाट अनुमोदित हुनुपर्छ — मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई सम्मान गरिएको छ । महानगरको विशेष अधिवेसन बोलाएर कर्मचारीको समायोजन गर्ने ऐन जारी गरेको र यसै ऐनबमोजिम साविक व्यवस्थाबमोजिम महानगरको सेवामा प्रवेश गरेका कर्मंचारीको व्यवस्थापनमा राजनीतिक र प्रशासनिक नेतृत्वमा उल्लेखनीय भूमिका निर्वाह गरेकोले उहाँहरुलाई सम्मान गरिएको हो ।

स्थानीय तह कर्मचारी युनियन, नेपाल सफाइ कर्मचारी युनियन, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल महानगर इकाईको संयुक्त आयोजनामा राष्ट्रिय सभा गृहमा सम्पन्न ‘सम्मान बधाई तथा शुभकामना कार्यक्रम’ राखिएको थियो । सम्मानपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले, नगर सभाबाट स्वीकृत कार्यक्रमहरुलाई कर्मचारीले इमान्दारिताका साथ कार्यान्वयन गरिदिए आफूले जनता समक्ष गरेका प्रतिवद्धता पूरा हुने बताउनुभयो । ‘हामीले पटक पटक जनताबाट अनुमोदित हुनुपर्छ । हामीलाई नेतृत्वमा अनुमोदन गर्नुअघि जनतासँग हामीले सेवा, सुविधा, पूर्वाधार, सामाजिक, आर्थिक तथा जनजीविकाका क्षेत्रको सुधारसहित विविध खालका बाचा गरेका हुन्छौँ । ती जनतासँग गरेका वाचा कर्मचारीकै सहयोगले पूरा हुनेहुन् । त्यसैले हामीले लिएका नीतिलाई इमान्दार भएर कार्यान्वयन गरिदिनोस् ।’ जनप्रतिनिधिलाई सफल बनाउन कर्मचारीकातर्फबाट सहयोग हुनुपर्ने बताउँदै प्रमुख शाक्यले, विना सन्देह काम गर्न आग्रह गर्नुभयो ।

कर्मचारीलाई कामप्रति उत्साहित गराउन समायोजन ऐनमार्फत एक तह बढुवा गरिएको बताउँदै प्रमुख शाक्यले, समूहगत कामबाट परिणाम आउने विश्वाश व्यक्त गर्नुभयो । जनप्रतिनिधिको नीति कर्मचारीले कार्यान्वयन गरे भने जनप्रतिनिधिको शिर उच्च हुन्छ । कर्मचारीको भूमिका यही नै हो । उहाँको भनाइ थियो ।

त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, अन्य नगरलाई काम गर्न सिकाउने गरी महानगरले भूमिका खेल्नुपर्ने बताउनुभयो । ‘ऐनमार्फत महानगरका कर्मचारीको समायोजन भएको छ । यसबाट सबै स्थानीय तहमा सन्देश जान्छ । महानगरबाट सिकेर अन्य स्थानीय तहमा पनि साविक स्थानीय निकायका कर्मचारीको समायोजन हुनेछ ।’ उपप्रमुख खड्गी श्रेष्ठले महानगरको नेतृत्वबाट अन्य स्थानीय तहलाई निर्णय लिन सजिलो हुने बताउनुभयो ।
महानगरले फागुन ४ गते जारी गरेको ‘काठमाडौँ महानगरका कर्मचारी समायोजन ऐन’ संघीय शासन व्यवस्थाको कार्यान्वयनमा एउटा महत्वपूर्ण सहयोग हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भन्नुभयो — ‘सामुहिक हितका लागि राजनीतिक नेतृत्वले गरेका निर्णय कार्यान्वयनमा लैजानु प्रशासनिक नेतृत्वको जिम्मेवारी हो । यही संयोजन मिलेर महानगरमा कर्मचारी समायोजन ऐन जारी हुन सकेको हो ।’
संघीय शासन प्रणालीको मर्म, संघ सरकारबाट जारी ऐनका आधारमा महानगरले नगरसभाबाट समायोजन ऐन पारित गरेर कार्यान्वयन गरिएको प्रमुख प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ थियो । समायोजनमार्फत कर्मचारीको वृत्ति विकासमा महत्वपूर्ण योगदान गरेको बताउँदै कार्यक्रममा प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सम्मान गरिएको थियो ।

त्यस क्रममा कर्मचारी संघ, संगठनकातर्फबाट धारणा राख्दै हरिकुमार श्रेष्ठ, नमराज ढकाल र बलराम रानाभाटले महानगरले कर्मचारीको प्रोत्साहनका लागि गरेको निर्णयले जवाफदेहिता बढेको बताउनुभएको थियो । त्यो जवाफदेहिताबाट परिणाम आउनु पर्छ । कर्मचारीले आफूलाई यसप्रति संवेदनशील बनाउनुपर्छ । उहाँहरुको जोड थियो । स्थानीय तहमा अस्थायी र करार सेवामा रहने कर्मचारीको व्यवस्थापनमा अझै पनि काम गर्नु पर्नेछ । यसले गर्दा कर्मचारी—कर्मचारीविचको विभेद अन्त्य हुनेछ । यसका लागि महानगरको नेतृत्वबाट
त्यस क्रममा प्रशासन महाशाखा प्रमुख युवराज खनालले, ऐनबाट महानगरका १ हजार ५५१ जना कर्मचारीको १ तह बढुवा भएको जानकारी दिनुभयो । स्थानीय सरकारबाट जनताले गरेका अपेक्षा पूरा गराउन जनप्रतिनिधि र कर्मचारी एक मतले अगाडि बढ्नु पर्ने बताउँदै संघका इकाई अध्यक्ष शम्भु बरालले, आत्मीय सम्बन्ध र आपसी बुझाइलाई समान बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।-चन्द्रमणि भट्टराई