नेपाली / English

त्रि वि कार्यकारी सभाले गठन गरेको कार्यदलले समयमा प्रतिवेदन नबुझाएपछि आंशिक प्राध्यापक फेरि आन्दोलित

नेपाल आंशिक प्राध्यापक संघले लामो समयदेखि आंशिकका रूपमा पढाइरहेकालाई करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै आएको छ । माग सुनुवाइ नभएपछि ताला लगाउनुपरेको संघका अध्यक्ष वालकृण डाँगीले बताए । झन्डै चार वर्षअघि सरकारले एक वर्ष आंशिक शिक्षण गरेकालाई करार नियुक्ति दिनुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी सभाले गठन गरेको कार्यदलले समयमा प्रतिवेदन नबुझाएपछि आंशिक प्राध्यापक फेरि आन्दोलित भएका हुन् ।

दाङको महेन्द बहुमुखी क्याम्पसमा मात्रै ४२ जना आंशिक प्राध्यापक छन् ।‘आवश्यकताका आधारमा करार गर्ने प्रतिबद्धताकै कारण क्याम्पसले पनि स्वायत्ततामा जाने निर्णय लिइसकेको छ ।’ यसअघि पटकपटक धर्ना बसेका आंशिक प्राध्यापकको माग सम्बोधन गर्न त्रिविले अनुगमन समिति गठन गरेको थियो ।

उक्त समितिले दिएको प्रतिवेदनउपर छलफल गरी कार्यकारी सभामा एजेन्डा लैजान अर्को समिति गठन भएको छ । नयाँ नियुक्ति भएका त्रिवि पदाधिकारीले आफूहरूको माग तत्काल सम्बोधन गर्नुपर्ने आंशिक प्राध्यापकहरूले बताएका छन् । फागुनदेखि पारिश्रमिक समेत नपाएको उनीहरूको गुनासो छ ।

माग पूरा नभए भोली देखी क्याम्पसका कक्षा र लेखाशाखामा पनि ताला लगाउने संघका सचिव दुर्लभ श्रेष्ठले बताए । आइतबारै संघका केन्द्रीय अध्यक्ष महेशकुमार गजुरेल र सहअध्यक्ष नरेन्द्रप्रसाद भण्डारीले विज्ञप्ति प्रकाशित गरी माग पूरा गर्न ध्यानाकर्षण गराएका छन् ।-kusenews