नेपाली / English

कोविड रोकथाम र नियन्त्रणका लागि महानगरका वडाले दैनिक ज्यालादारीमा २ जनासम्म स्वास्थ्यकर्मी लिन सक्ने

काठमाडौँ । कोविड १९ को बढ्दो जोखिम कम गराउन, यसको रोकथाम तथा नियन्त्रणका काम गर्न काठमाडौँ महानगरका वडाले २ जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएका छन् । आज महानगरको सभा कक्षमा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५९ औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । महामारी नियन्त्रणका लागि यस अघि काममा लगाइएका जनशक्तिको म्याद थप गरेर कामलाई नियमित गर्न सकिने बैठकले निर्णय गरेको छ ।

बैठकका अध्यक्ष शााक्यले, काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि चैत २० गते नुवाकोट र धादिङ्का स्थानीयसँग भएको सहमतिका बारेमा जानकारी गराउनुभएको थियो । यस विषयमा कार्यपालिका सदस्यहरुले फोहोरको दिगो समाधान हुने प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । बैठकमा धनकुटा जिल्लाको पाख्रीबास नगरसँग भगिनी सम्बन्ध स्थापना, महानगरको राजस्व प्रशासन, कोविडकाकारण गरिएको बन्दाबन्दीका समयमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीको प्रोत्साहन विधिलगायत विषयमा छलफल गरिएको थियो ।