नेपाली / English

स्थानीय पाठ्यक्रमका रुपमा ‘येँ देय् म्हसीके, (काठमाडौँ चिनौँ)’ अनिवार्य

काठमाडौँ । काठमाडौँ महानगरले विद्यालय स्तरमा नेपाल भाषा अध्यापन गराउन १७२ जना सहायक प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ । ५१६ जना आवेदकमध्ये छनौट भएर पूर्व सेवाकालीन तालिम लिएका सहायक प्रशिक्षकहरुसँग बैशाख ७ गते सम्झौता गरिएको हो । सम्झौतापछि प्रशिक्षकहरुलाई सामुदायिक विद्यालयमा भाषा अध्यापनका लागि खटाइएको छ ।

पूर्व सेवाकालीन तालिम समापनको अवसरमा प्रमाण पत्र वितरण गर्दै त्यस अवसरमा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, स्थानीय पाठ््यक्रम कार्यान्वयनमा ल्याउनु महानगरका प्रमुख उपलब्धीमध्येको एक भएको उल्लेख गर्नुभयो । ‘पैसा र योजना भएर मात्र हुँदैन । सोच कार्यान्वयनमा आउन धेरै विषय मिल्नुपर्छ । त्यसमा पनि भाषा प्रशिक्षणको विधिलाई व्यवहारमा उतार्न सजिलो थिएन । सबैको प्रयासबाट यो सम्भव भएको छ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘यसबाट काठमाडांैँको परिचय व्यवहारिक रुपमा प्रवर्धन हुनेछ ।’
त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, भाषा प्रशिक्षणमा महिलाहरुको उल्लेख्य सहभागिताले आफूलाई खुशी तुल्याएको उल्लेख गर्नुभयो । ‘नेवार समुदायमा महिलाहरुलाई घरबाहिर निस्कन सजिलो छैन । परम्परागत र सांस्कृतिक रोकावट छन् । यी सामाजिक मान्यतालाई स्वीकार गर्दै महिलाहरु विभिन्न क्षेत्रको अगुवा बनेको देख्दा परिवर्तनको महसुस हुन्छ ।’ उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो ।

त्यस क्रममा सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी, पाठ्यपुस्तक लेखन समितिका प्रमुख प्राविधिक सल्लाहकार एवं लेखक वरुणप्रसाद वैद्यलगायत वक्ताले, पाठ््यपुस्तकमा समेटिएका विषय र स्थानीय पहिचानका विषयमा धारणा राख्नुभएको थियो । पाठ्यपुस्तकमा काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएकाले बालबालिकालाई काठमाडौँका सामाजिक र सांस्कृतिक जीवन, मूर्त र अमूर्त सांस्कृतिक सम्पदा, ठाउँको नाम र अर्थ बुझ्न सजिलो हुने उहाँहरुको भनाइ थियो ।

नेवाः स्यनामि दबू नेपाल मण्डलको संयोजनमा महानगरको शिक्षा विभागले सहायक प्रशिक्षकलाई तालिम दिन ३० जना मुख्य प्रशिक्षक उत्पादन गरेको थियो । नेपाल भाषा व्यवस्था समितिका सदस्य सचिव एवं शिक्षा अधिकृत मोती खनालकाअनुसार संस्थागत विद्यालयका नेपाल भाषा अध्यापन गराउन ८० जनालाई प्रशिक्षण दिइसकिएको छ । सामुदायिक विद्यालयमा पाठ््यक्रम र पाठ््यपुस्तक दुवै निशुल्क वितरण गरिनेछ भने संस्थागत विद्यालयलाई पाठ््यक्रम निःशुल्क दिइनेछ भने उनीहरुले पाठ््यपुस्तक खरिद गरेर लिनुपर्नेछ । १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन गरिने छ । कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुनेछ ।