नेपाली / English

शंख पार्कमा खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ, यसको उपयोग र लाभ हेरेर विस्तार गर्छौँ — प्रमुख शाक्य

काठमाडौँ । आज महानगरको वडा ४ स्थित शंख पार्कमा खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वाह्य शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ गर्नुभएको हो । शुभारम्भपछि बोल्दै प्रमुख शाक्यले, यी उपकरणको प्रयोग गर्ने उपभोक्ताबाट आएको प्रतिक्रिका आधारमा थप ठाउँमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । ‘हामी सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने र पार्कमा बहुउपयोगी बनाउने योजनाअनुसार काम गरिरहेका छौँ । यसको प्रयोगकर्ताबाट प्राप्त हुने सुझावका आधारमा अन्य पार्कमा पनि सेवा विस्तार गर्नेछौँ ।’

अतिक्रमित सार्वजनिक जग्गालाई पहिचान गर्ने, अतिक्रमण हटाउने र सार्वजनिक उपयोगमा ल्याउने काममा धेरै प्रगति भएको छ । यसलाई अझै बढाउनु पर्नेछ । प्रमुख शाक्यको भनाइ थियो । त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, पार्क संस्कार जोगाउन सके सामाजिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताउनुभयो । हामी योजनाबद्ध रुपमा पार्क निर्माण गरिरहेका छौँ । व्यवस्थित पार्कले स्थानीयको शारीरिक र मानसिक स्वास्थ्यलाई ठीक बनाउँछ, यी उपकरणको प्रयोग यसकालागि गरिनु पर्छ, उहाँको भनाइ थियो ।

जडान गरिएका सामानको प्रयोग गर्दै वडाध्यक्ष मोहनबहादुर विष्टले, वडाका अन्य पार्कमा पनि सामान जडान गर्ने सोच सुनाउनुभयो । सहरी आचरणलाई स्वस्थ्य बनाउन पनि यसप्रकारका सुविधा आवश्यक छन् । विष्टको भनाइ थियो । अहिले व्यायामकालागि करीब ८ लाख रुपैयाँबराबरका सामान तथा उपकरण राखिएका छन् । यसरी राखिएका उपकरणमा एव्डोमिनल फिटनेट कम्बाइनेसन, एअर वाकर, डबल सर्फोर्ड, सिङ्गल रोइङ् मेसिन, डबल स्लिट्स मेसिन, लेग एक्स्टेक्सन एण्ड फिटनेस राइडर, स्डान्डिङ् एण्ड सिटिङ् ट्वीस्टर, पुस अप एण्ड डिपस्टेशन र लेग लिप्टरलगायत छन् ।

खुल्ला ठाउँमा राखिएका सामानको गुणस्तरीयका विषयमा ग्रीन वकर्सका संस्थापक अध्यक्ष रामप्रसाद उपाध्यायले यहाँ जडान गरिएको सामान तथा उपकरण विश्वका विकसित मुलुकमा प्रयोग भइसकेको उल्लेख गर्नुभयो । जीएसटीयुभी सर्टिफाइड फुल ग्याल्बनाइज्य र खिया नलाग्ने सामानको प्रयोग गरिएकोले खुल्ला स्थान राखेर कुनै समस्या हुँदैन । यी सामान छुँदा छाला चिलाउने तथा एलर्जी हुने जस्ता समस्या हुँदैनन्, उपाध्यायको भनाइ छ । यी सामान तथा उपकरण हरेक उमेर र तौल भएका व्यक्तिले प्रयोग गर्न सक्ने गरी राखिएका छन् ।