नेपाली / English

बाढी प्रभावित सिन्धुपाल्चोकका हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई काठमाडौँ महानगरले ५० / ५० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाका हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० / ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आज राष्ट्रिय सभा गृहमा बसेको नवौँ अधिवेसनको दोस्रो बैठकबाट बाढी प्रभावित गाउँपालिकाहरुलाई सहयोग गर्ने निर्णय गरिएको, महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । हिजो बसेको पहिलो बैठकले मेलम्ची नगरलाई २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

असार १ गते विहान लार्के नदीमा बाढी आएको थियो । बर्षा नरोकिएपछि बेलुकाबाट याङ्ग्री खोलामा पानीको सतह बढ्न थाल्यो । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा भन्नुहुन्छ, रात परेपछि हेलम्बुबाट मेलम्ची नदीमा बाढी आउन थाल्यो । उहाँकाअनुसार दोर्जे लाक्पा हिमालमा आएको हिमपहिरोका कारण विपत्ति आएको हो । पहिरोले झोलुङ्गे पुलमा क्षति पु¥याएपछि बस्ती बस्तीविचको सम्पर्क टुटेको छ । त्यसैले हामीले झोलुङ्गे पुल बनाएर सम्पर्क जोड्नु छ । सडक बनाएर बस्तीमा पुग्नु छ ।

गाउँपालिकाका अध्यक्ष लामा आवश्यकताका बारेमा भन्नुहुन्छ, याङ्ग्रमा ग्याविन वाल लगाउन सकियो भने ३२ परिवार बचाउन सकिन्छ । आइसोलेसन राखिएको पिपिनीको अस्पतालमा क्षति भएको छ । जनताको स्वास्थ्यका लागि यसको व्यवस्थापन गर्नुछ । महानगरका प्रमुखले सहयोगका बारेमा फोन गरेर भन्नुभएको थियो । हामीलाई प्राप्त सहयोगलाई प्राथमिकताका आधारमा प्रयोग गर्नेछौँ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याजेन शेर्पाले बाढीको सबैभन्दा धेरै प्रकोप आफ्नो गाउँपालिकाले व्यहोर्नु परेको उल्लेख गर्दै हेलम्बुमा सरोकारवालाको कम ध्यान गएको गुनासो गर्नुभयो ।