नेपाली / English

प्रहरी प्रशासनको कार्यशैलि प्रति प्रश्न चिन्ह

क्लोज सर्किट क्यामरामा लागूऔषध राखिदिँदै गरेको देखिने भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटको एक पत्रकारलाई फसाउन प्रहरीले नै मोटरसाइकलमा लागूऔषध राखेर पक्राउ गरिएको पुष्टि भएको छ । रौतहटले घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले नातेदार धिरज यादवलाई प्रयोग गरेर पत्रकारको मोटरसाईकलमा लागूऔषध राखिदिएको पुष्टि भएको छ ।
रौतहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । हालै सार्वजनिक एक सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर पक्राउ गराइएको देखिएपछि अनुसन्धान थालिएको थियो ।

अनुसन्धानबाट फरक तथ्य खुलेपछि यादवद्वयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले आपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा पक्राउ गरी धिरज यादवलाई ६ दिन म्याद थप गरिएको जनाएको छ । भने गैरव्यवसायिक काम गर्ने दुई प्रहरीलाई निलम्बन गरिएको छ ।

देशमा अपराध नियन्त्रण गर्ने र नागरिकको जिउधनको सुरक्षा गर्नेजस्ता कार्यमा खटिएका प्रहरीजस्तो जिम्मेवार निकायबाट यस किसिमको कार्य हुनु अत्यन्त दुःखद् र निन्दनीय कार्य हो । प्रहरीको यस्तो कार्यबाट आमनागरिकमा प्रहरीप्रतिको विश्वासमा आघात पुग्नका साथै कानुनी राज्यको उपहास समेत भएको छ । यदि अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साहलगायकतका घुमुवा प्रहरी र अन्य बाहिरी व्यक्तिहरूको संलग्नतामा उक्त लागुऔषध राखिएको सिसिटिभी फुटेज न भएको अथवा नदेखिएको भए प्रहरीजस्तो जिम्मेवार निकायबाट निर्दोश पत्रकारद्वयको जिवन नै धरापमा पर्ने र सञ्चार क्षेत्रकै बदनाम गराउने कार्य भएको देखिदा जतिनै निन्दा गरेपनि कमै हुने छ । साथै यो घटनाले प्रहरी प्रशासनको कार्यशैलि प्रति प्रश्न चिन्ह समेत लागेको छ ?